सांकेतिक तस्बिर
राँझा-मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
उनका अनुसार, राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण मानवीय र धनमालको क्षति हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सतर्कता अपनाउन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ।
बाँकेमा शनिबार बिहानदेखि नै मनसुन सक्रिय भएको छ। पहाडी जिल्लामा वर्षा हुनासाथ राप्ती नदीमा बाढी आउने भएकाले सुरक्षा संयन्त्र, रेडक्रस, विपद् व्यवस्थापन समितिहरुलाई तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरिएको छ।
आगामी केही दिन अविरल वर्षा भई बाढी आउने सम्भावना उच्च रहेकाले पूर्वतयारी तथा सतर्कता अपनाउन आम नागरिकलाई अनुरोधसमेत गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले बताए। भारतले राप्ती नदीमा लक्ष्मणपुर र कलकलवा तटबन्ध बनाएपछि बाँकेको नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन्। राप्ती नदीमा बाढी आउँदा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, वनकट्टी, कम्दी र नरैनापुर गाउँपालिकाको गङ्गापुर, मटेहिया, नरैनापुर तथा लक्ष्मणपुर गाउँ डुबानमा पर्ने गरेको उनकाे भनाइ छ।
भारतले दशगजामा सडकजस्तो बाँध बनाएपछि हिरमिनिया, जयसपुर, पिप्रहवा, भवानीयपुर, राधापुरलगायत ठाउँ डुबानमा पर्ने जोखिम रहेको छ। राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवाभन्दा सडकजस्तो बाँधले डुबानको क्षेत्र बढाएको छ। ठूलो पानी परेमा नेपालगञ्जसमेत डुबानमा पर्ने जोखिम रहेको छ । नेपालगञ्जको पानीको निकास पनि सडकजस्तो बाँधले थुनेको छ। प्राकृतिक बहाव रोकिएको छ।
सडकजस्तो बाँध भत्काउन नसके पनि पानीको निकास हुने गरी ठाउँठाउँमा ठूल्ठूला कल्भर्ट बनाउन आवश्यक रहेको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव एवं होलियाका स्थानीय बासिन्दा राजकुमार शुक्ला बताउछन्। उनका अनुसार, पानीको निकास हुने गरी कल्भर्ट हाल्न नसकिए बाँकेको भारतसँग जोडिएको दक्षिणी भेग पूरै डुबानमा पर्ने खतरा बढेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।