नक्कली ब्लुबुक बनाएको आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरिँदै।
काठमाडाैं-यातायात व्यवस्था कार्यालयका कर्मचारीकै मिलेमतोमा नक्कली ब्लुबुक बन्ने गरेको पाइएको छ। नक्कली ब्लुबुक बनाउँदै गर्दै एक गिरोहलाई दाङ प्रहरीले पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो।
जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा यातायात व्यवस्था कार्यालय दाङका कार्यालय सहयोगी ४८ वर्षीय कृष्ण वलीसहित १९ जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरीका मोटरसाइकलसमेत बरामद गरेकाे छ। वलीसहित तुलसीपुर-६ का २१ वर्षीय अब्दुल हफिस सिद्धिकी, सोही ठाउँका चक्रबहादुर वली, जीवन पोख्रेल, विष्णु घिमिरेको मिलेमतोमा सरकारी छाप कीर्ते गरी नक्कली ब्लु बनाउने गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो ।
लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, पुराना ब्लुबुकलगायतका काजगात उनीहरुबाट बरामद भएका छन् ।
त्यसैगरी १० वटा चोरीका मोटरसाइकलसहित अन्य १४ जना पक्राउ परेका छन् । पक्राउ परेका सबैजना दाङका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु २१ वर्षदेखि ३५ वर्ष उमेर समूहका छन् । उनीहरुले चोरी गरेका विभिन्न कम्पनीका १० वटा मोटरसाइकल बरामद गरिएका छन् ।
चोरीका मोटरसाइकलसहित पक्राउ परेका १४ जनालाई चोरीको कसुरमा र नक्कली ब्लुबुक बनाउने कर्मचारीसहित ५ जनालाई सरकारी कागजात कीर्तेमा गरेको अभियोगमा अनुसन्धान सुरु गरिएको दाङ प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।