एजेन्सी- स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ।
क्याटलोनियाली सरकारले बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको संक्रमण बढेपछि घरमै बस्न आग्रह गरेको हो।
‘क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र नाइट क्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,’ प्रवक्ता मेरिटक्सेल बुडोले पत्रकार सम्मेलनका क्रममा भनेका छन्।
सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक सहर बार्सिलोनामा रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन्।
त्यहाँका बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्तासम्मको अवधिमा भागेर नजान पनि भनिएको छ।
‘आउने हप्तामा सबै बार्सिलोनाबासीलाई पहिले झैं लकडाउन गरेर राख्नुपर्ने बाध्यता पनि आउन सक्छ,’ बुडोले भने। उनले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउन सकिने बताएका छन्।
उनले भने, ‘मार्चको जस्तो अवस्थामा नआओस् भनेर हामीले छिटो र निर्णायक कदम चाल्नुपरेको हो।’
स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेड्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपतकालीन अवस्थाको घोषणा गर्दै कोरोना भाइरस रोक्नका लागि कडा नीतिको अवलम्बन गरेको थियो।
कोरोना भाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ बिरामीमा संक्रमण भेटिएपछि स्पेनी अधिकारीहरू अहिले चिन्तित भएका छन्।
स्पेनमा कोभिड–१९ संक्रमित २८ हजार ४ सय २० व्यक्तिको निधन भएको छ भने २ लाख ६० हजार २ सय ५५ जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।