काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन्। सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन्।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए। त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६/२६ गैंडा मरेका थिए। गत आर्थिक वर्षमा बुढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसियुक्त खानाका कारण ४, बाघको आक्रमणका कारण १ गैंडा मरेका छन्।
त्यसै गरी करेन्ट लागेर दुई, रुखले किचेर एक, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेको उप्रेतीले जानकारी दिए। मरेकामध्ये १३ भाले, १० पोथी र ३ पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए। अघिल्लो आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन्। त्यस वर्ष ९ भाले, १४ पोथी र २० को कंकालमात्र भेटिएको थियो। धेरै गैंडा विगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउँछन्।
सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन्। पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए। चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ। गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ। चालु आर्थिक वर्षमा गणना गरिदैंछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।