काठमाडौं– करिब ८ करोड ठगी गरेर फरार भएका चन्दन जिन्दल पक्राउ परेका छन्। जिन्दललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको गट्ठाघरबाट बिहीबार पक्राउ गरेको हो।
झापाको दमन नगरपालिका–७ का २९ वर्षीय जिन्दलले झापा, बारा, पर्सा, सर्लाही बस्ने विभिनन व्यक्तिलाई विभिन्न बाहना बनाएर ठगी गरेका थिए। जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुरको मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जबाट र इलाका प्रहरी कार्यालय दमक झापाबाट ठगी मुद्दा दर्ता भई पक्राउपूर्जी जारी भएको छ।
उनले आफूलाई मनिष अग्रवालको नामले पनि चिनाउने गरेका थिए। हालसम्म २२ जना व्यक्तिबाट उनले ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ।
उनले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरुलाई विश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। झापातिर जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको पाइएको महाशाखाले जनाएको छ।
पक्राउ परेका जिन्दललाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।