काठमाडौं-मृत्यु संस्कारका लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने पक्राउ परेका छन् ।बा ११ च ६३ नम्बरको स्कार्पियो गाडीका चालक मकवानपुर हेटौंडा-२ चौकी टोल बस्ने ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई प्रहरीले बुधबार राति चन्द्रागिरि नगरपालिका-२ पानीघाटबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त ठाउँमा सवारी जाँच गर्ने क्रममा घिमिरेलाई पक्राउ गरेको हो। उनी जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारका लागि काठमाडौं आउन जारी गरेको म्याद सकिएको सवारी पास देखाएर ६ यात्रुसहित काठमाडौं छिर्न लागेका थिए।
उक्त गाडीमा सवार यात्रुहरूलाई आवश्यक व्यवस्थापनका लागि सामाखुसीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा पठाउनुका साथै चालक घिमिरेउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको उक्त वृत्तले जनाएको छ ।
त्यसैगरी चित्लाङ-काठमाडौं गणेशमान मार्ग हुँदै अनाधिकृत तवरले काठमाडौं उपत्यका प्रवेश गरी यात्रुहरू ओसारपसार गर्ने ६ जना चालकलाई बुधबार राति महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बा १८ च ५३७६ नम्बरका चालक मकवानपुर हेटौंडा-६ घर भएका २७ वर्षीय सुरज विश्वकर्मा, बा १५ च ८०४२ नम्बरका चालक सोही ठाउँ घर भएका ५० वर्षीय सन्तकुमार विश्वकर्मा र बा १२ च ४२३८ नम्बरका चालक सोही उपमहानगरपालिका-४ घर भएका रोशन भन्ने ४३ वर्षीय ताराप्रसाद अधिकारी छन् ।
त्यस्तै ना १ ज ३५४८ नम्बरका चालक बारा कलैया उपमहानगरपालिका-४ घर भएका ५० वर्षीय रमेशप्रसाद धानुक, ना १ ज ५९६७ नम्बरका चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका-२ घर भएका २७ वर्षीय आले तामाङ र ना १ ज ७३७९ नम्बरका सवारी चालक बारा कलैया उपमहानगरपालिका-२ घर भएका २६ वर्षीय देवशंकर पासवान रहेका छन् ।
उनीहरुमध्ये सुरज विश्वकर्माले हेटौंडाबाट ६ यात्रुहरु, सन्तकुमार विश्वकर्माले हेटौंडाबाट ५ यात्रु, ताराप्रसाद अधिकारीले हेटौंडाबाट ४ यात्रु, रमेशप्रसाद धानुकले कलैयाबाट ६ यात्रु, आले तामाङले बारादेखि ६ यात्रु र पासवानले बारादेखि ६ यात्रु ओसारपसार गरेका थिए ।
प्रारम्भिक सोधपुछका क्रममा नागढुंगा चेकप्वाइन्टबाट राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात आवागमन बन्द हुने हुँदा उनीहरूले प्रहरीको औपचारिक चेक प्वाईन्ट छल्न यस रूटको प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको उक्त वृत्तले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।