काठमाडौं- स्वर्ण पदकको लागि खेल्न रिङमा जाँदै गर्दा दिवस श्रेष्ठलाई हारको चिन्ता थिएन। उनको दिमागमा एउटै कुरा खेलिरहेको थियो- स्वर्ण पदक। विजयी भावको संकेत लिएर गएका दिवस जित्दा जित्दै हार्न पुगे।
कतिले सफलतामा आफ्ना सपना पूरा गर्छन्। कतिको सपना देखिने गरी सफल हुँदैन। दिवस भने सफल हुँदाहुँदै पनि चुक्न पुगे। मौकामा आफूलाई पूर्ण सावित गर्न सकेनन्। हुन त अन्तर्राष्ट्रिय स्पर्धामा दिवसले आफूलाई प्रमाणित गरेका त हुन् तर उनी आफैलाई लाग्छ- हुनुपर्ने जति भएन।
१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण जित्ने सपना उनको त्यतिबेला चकनाचुर बन्यो, जतिबेला उनी रेफ्रिको चेतावनीपछि ‘डिसक्वालिफाइ’ भए। कराते ८४ केजी तौल समूहमुनि प्रतिस्पर्धा गरेका दिवस एकछिन् अक्क न वक्क भए। बोल्न सकेनन्। मात्र भनिरहे मेरो फोउल होइन उसको (पाकिस्तानी खेलाडी) हो।
‘फाइनल खेलमा रेफ्रि श्रीलंकाको हुनुहुन्थ्यो। उहाँले मलाई अन्तिमको फोउल दिनुभयो। म आफै मागिरहेको थिएँ कि, पाकिस्तानको फोउल भइरहेको। किन नदिएको? उल्टै मेरै फोउल देखाइयो। म डिस्क्वालिफाइ भएँ। पाकिस्तानका खेलाडीले गोल्ड मेडल जित्यो’ दिवसले सम्झिए।
खेलकुद, त्यसमा पनि कराते। एक सेकेन्ड मै पनि खेलको नतिजा परिवर्तन हुन सक्छ। स्वर्ण पदकको लागि जित्दै गर्दा हार्न पुगेका उनी फेरि यस्तो कहिल्यै नहोस् भन्छन्, ‘सोच्दै नसोचेको र जितिरहेको खेल हार्दा सारै नराम्रो लाग्यो। अझै पनि फेरि एक पटक खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ।’
अन्तिम फोउल उनले पाकिस्तानी खेलाडीलाई समातेको भन्दै पाएका थिए। अरु चाहिँ फोउल रिङभन्दा बाहिर गयो भनेर उनलाई रेफ्रिले वार्निङ दिएका थिए।
अहिले उनीसँग कसैले साग खेलकुदको कुरा गरेमा टोलाएर त्यही खेलको सम्झनामा डुब्छन्। त्यो उनको जीवनको एउटा नरमाइलो क्षण बनेर बसेको छ।
दिवसलाई अहिले लाग्न थालेको छ, त्यो दिन उनको थिएन। खेल मात्रै हैन भाग्य पनि चाहिन्छ कि।
उनी भन्छन्, ‘खेल हो, भाग्य पनि चाहिँदो रहेछ। धेरै कुरा रेफ्रिको हात पनि हुँदो रहेछ। अहिलेसम्म त्यस्तो क्षण भोगेको थिइनँ। रेफ्रिलाई दोष देखाएर पनि हुँदैन। सायद मेरो पनि केही कमिकमजोरी होला।’
भटाभट नेपालले करातेमा स्वर्ण पदक जित्दै गर्दा नेपालको स्वर्ण संख्या पनि बढेको थियो। करातेमा नेपालले कुल १० स्वर्ण पदक जित्दा दिवस भने आफ्नो रजत पदकमै सिमित भएका थिए। देशलाई स्वर्ण दिलाउँदै आफ्ना लक्ष्य पूरा गर्न अघि बढेका दिवसको रजत मै रोकिँदा उनका आखाँ नरसाएको होइन्। मन नरोएको होइन। तर वास्तविकतालाई स्वीकार्न बाहेक केही रहेन।
‘देशलाई स्वर्ण पदक नै जिताउने लक्ष्य चाहिँ पूरा भएन। धेरै दुःखी भएँ’, दिवस सुनाउँछन्, ‘तर स्वर्ण जित्ने खेलाडीले नै दिवसलाई ‘यो तिमीले जितेको खेल हो।’ भनेर सम्बोधन गर्दा उनीमा फिक्का खुशी देखिन्थ्यो। जहाँ हाँसो थियो, खुशी थिएन। साहनुभूति थियो सन्तुष्टि थिएन।
अनुशासनका लागि कराते सिक्दा
१५ वर्षको उमेरमा आमाको करले कराते सिक्न थालेका दिवसलाई यहाँसम्मको यात्रा गर्छु भनेर लागेको थिएन। न उनकी आमा प्रतिमा श्रेष्ठलाई नै लागेको थियो।छोरालाई अनुशासनमा राख्न र नराम्रो संगतमा नलागोस् भनेर दिवसकी आमाले कराते खेलाउन सातदोबाटोदेखि त्रिपुरेश्वरसम्म धाएकी थिइन्।
‘देशको लागि पदक जित्नु र राष्ट्रिय टिममा परोस भनेर मलाई आमाले कराते खेलाउनु भएको होइन। नराम्रो सँगतमा नलागोस् अनुशासनमा रहोस् भनेर आमाले मलाई कराते सिकाउनु भएको हो’, दिवस भन्छन्।
सिक्दै गएपछि दिवसले थुप्रै राष्ट्रिय प्रतियोगिताहरु खेले। सिक्दै जाँदा, खेल्दै जाँदा राम्रो हुँदै गयो। मेडल जित्दै गए। यो कुराले उनलाई झनै उर्जा मिल्दै गयो।
‘मेडल जित्दै गर्दा त्यो बेलासम्म मलाई राष्ट्रिय टिम के हो थाहा थिएन। राष्ट्रिय टिमका खेलाडी को को हो केही थाहा थिएन’, दिवस थप्छन्, ‘२०१४ को एसियन गेम्सको छनोट हुँदासम्म एसियन गेम्स के हो थाहा थिएन। त्यसको क्रेज के हो बुझेकै थिइनँ।’
दिवससँग १३औं सागको जस्तो नरमाइलो क्षण मात्रै छैन। सँधै याद आइराख्ने ‘च्याम्प अफ द च्याम्प’ जित्दासम्मको उमंग पनि छ।
दुबईमा बुदोकान कप कराते प्रतियोगिता आयोजना भएको थियो। दिवसलाई त्यहाँको स्थानीय डोजोबाट खेल्न निमन्त्रणा आएको थियो। दिवसले आफ्नो तौल समूहमा स्वर्ण जिते। प्रतियोगितामा अर्को उपाधि थियो ‘च्याम्प अफ द च्याम्प’ जहाँ तौल समूहका स्वर्णधारी खेलाडीको प्रतिस्पर्धा थियो। दिवसले ‘च्याम्प अफ द च्याम्प’ उपाधि पनि जित्न सफल भए।
दिवस भन्छन्, ‘आफ्नो तौल समूहमा मैले गोल्ड हाने। त्यसपछि त्यहाँ ‘च्याम्प अफ द च्याम्प’ भन्ने उपाधि थियो। जुन सबै तौल समूहका स्वर्ण विजेताहरुको प्रतिस्पर्धा थियो। यहाँ पनि मैले गोल्ड मेडल हाने। मैले पाएको यो सफलता अहिलेसम्मकै स्मरणीय हो।’
गीतकार आमाका छोरा
दिवसकी आमा प्रतिमा श्रेष्ठ गीतकार हुन्। करातेमा लागेर सँधै शरीर फिट राखेका छोरा। आफ्नै तेस्रो एल्बममा मोडलको खोजिमा रहेकी आमा।
लकडाउनकै क्रममा दिवसकी आमा तेस्रो एल्बम ‘प्रेम प्राथना’ निकाल्ने जमर्कोमा थिइन्। यसकै क्रममा प्रतिमाले म्युजिक भिडियोमा खेल्ने मोडलको खोजि गरिरहेकी थिइन्।
‘आमालाई अरुले मलाई नै म्युजिक भिडियोमा खेलाउन सुझाव दिनु भएछ। आमाले पनि मलाई खेल्छस त भन्नु भयो। मैले पनि यो लकडाउनको बेला फ्रि नै हुन्छु भनेर हुन्छ भने,’ दिवस भन्छन्।
ए सुनन तिमी राम्रो लाग्यो। अब आएर मन पर्यो के... भन्ने गीतमा स्वर बविता मानन्धरको रहेको छ। यो गीतको म्युजिक भिडियो अहिले छायांकन सकेर इडिटिङमा छ। अब केही दिनमै सार्वजनिक हुने पनि दिवसले जानकारी दिए।
हाम्रो जस्तो नियति आउने पुस्ताको नहोस्
दिवस आजभोलि निकै सोचिरहन्छन्। लकडाउनले उनलाई निकै सोच्ने बनाएको छ। खेलाडी जीवनले सँधै आफ्नो जिन्दगी पाल्न नसकिने निष्कर्षमा पुगेका छन् उनी।
‘खेल खेलेर आफ्नो जिन्दगी चल्छ भनेर चाहिँ हुँदैन। जिन्दगी राम्रोसँग चलाउन आफ्नो व्यवसाय गर्नु पनि छ। पैसा कमाउनु नै छ’, दिवस थप्छन्, ‘लकडाउनले सबैलाई सोच्न बाध्य बनाएको छ। के गर्ने त अब? सबै उथलपुथल भएको छ। त्यसैले सहि समयमा सहि काम लिएर केही गर्छु।’
नेपाली खेलकुद अन्य देशकोभन्दा धेरै पछि छ। त्यसमा खेलाडीको सेवासुविधा झनै परको कुरा। यस्तो परिस्थितिबाट नेपाली खेलाडीको प्रदर्शन केवल प्रदर्शनमा मात्रै सीमित हुन्छ भन्ने कुरा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले पुष्टि गरिसकेको छ। यो कुरामा दिवस पनि सहमत छन्। दिवसको तर्क छ, ‘यतिका वर्ष खेल्दा हामीलाई साग गेम्समा देशले हेरेको हो। त्यो भन्दा अगाडि त आफ्नै खर्च हुन्थ्यो। आफ्नै लगानीमा बाहिर गएर खेल्नु पर्थ्यो।’
कराते संघ आफैमा फुट, प्रशिक्षक आफैमा विवाद। खेलाडी भने सधैँ तनाबमा। यही अवस्थाबाट दिवस पनि आए। खेलमा हुर्किए। उनी राष्ट्रिय टिममा रहेको ९ वर्ष भइसकेको छ। यो अवधिमा करातेमा भएको विवादले खेलाडीमा पारेको असर गनिनसक्नु भएको दिवसको बुझाइ छ।
संघ मात्रै हैन, देशले खेलकुदलाई हेर्ने नजर पनि साँघुरो छ। अन्तर्राष्ट्रिय स्तरमै राम्रो नतिजा ल्याउन त्यही अनुसारको व्यवस्था सरकारले गर्नु पर्ने दिवस भन्छन्, ‘सरकारले करातेलाई मात्रै हैन राष्ट्रिय टिमका सबै खेलाडीलाई निश्चित तलबकै व्यवस्था गर्नु पर्छ। राष्ट्रिय टिमका खेलाडीलाई एउटा स्तरीय सुविधा भयो भने नयाँ पुस्तालाई सकारात्मक सन्देश जान्छ।’
(तस्बिरहरु दिवसको फेसबुकबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।