सुर्खेत– पञ्चपुरी नगरपालिका ५ सुर्खेतका सात वर्षीय गोविन्द बिसीका बुवा छैनन्। आमा शोभा बिसीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी छन्। साँझ-बिहानको छाक टार्नै मुस्किल पर्ने उनले छोरालाई विद्यालय पठाउन सकिनन्। आफूसँगैका अरु साथी विद्यालय गइरहँदा गोविन्द भने आमाले मजदुरी गर्ने ठाउँमा खेलिरहेका हुन्थे। अब भने उनी विद्यालय जान पाउने भएका छन्।
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावलले पढाइका लागि लाग्ने सबै खर्च आफूले बेहोर्नेगरी गोविन्दलाई विद्यालय भर्ना गराएपछि उनी विद्यालय जान पाउने भएका हुन्। सांसद रावतले शुक्रबार युवाज्योति आधारभूत विद्यालय पञ्चपुरीमा गोविन्दलाई कक्षा १ मा भर्ना गराएका छन्। उनलाई कक्षा १ देखि १० सम्म विद्यालय पोशाकदेखि, अन्य शैक्षिक सामग्री र खाजा खर्च लगायत अन्य खर्च समेत सांसद रावतले बेहोर्नेछन्।
छोराले विद्यालय गएर पढ्न पाउने भएपछि गोविन्दकी आमा शोभा पनि खुसी भएकी छन्। छोराले पढ्ने रहर गरे पनि खर्च धान्न नसक्ने भएर आफूले विद्यालय भर्ना गराउन नसकेको उनले बताइन्।
‘साँझ र बिहानको छाक टार्नै धौ–धौ छ’, उनले भनिन्, ‘छोराका लागि लाग्ने छुट्टै खर्च कहाँबाट ल्याउनु?’
विद्यालय भर्ना निःशुल्क भए पनि पोशाक, अन्य शैक्षिक सामग्रीसहित खाजा खर्च बेहोर्न नसक्ने भएकाले विद्यालय जाने उमेरमा पनि छोराले खेलेरै समय बिताउने गरेको उनको भनाइ थियो।
‘अब भने मेरो छोरा पनि विद्यालय जान पाउने भयो’, उनले भनिन्, ‘एउटी आमालाई यो भन्दा खुुसी के होला?’
उनले आफ्नो छोराको पढाइ खर्चको जिम्मा लिएकोमा सांसद रावतलाई धन्यवाद समेत दिइन्। विद्यालय जान पाउने भएपछि हर्षित भएका गोविन्दले अब साथीहरुसँग विद्यालय गएर पढ्ने बताए।
सांसद रावतले आर्थिक अवस्था कमजोर भएकै कारण कसैले शिक्षा पाउनबाट वञ्चित हुन नपरोस भनेर बिसीको अभिभावकत्व आफूले लिएको बताए। सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई सघाउ पुर्याउनेगरी गोविन्दको अभिभावकत्व ग्रहण गरेको बताए। उनले कमजोर आर्थिक अवस्थाकै कारण कुनै पनि बालबालिका पढ्नबाट वञ्चित हुनु विडम्बना भएको भन्दै आफ्नो तर्फबाट त्यस्ता बालबालिकालाई सक्दो सहयोग गर्ने बताए।
यसैगरी जिल्लाकै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले पनि विपन्न समुदायका एक बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरेका छन्। चौकुने–८ का हर्कबहादुर भाट र तुल्सा भाटकी ६ बर्षकी छोरी रन्जना भाटलाई उनले विद्यालयमा भर्ना गरेका हुन्। अध्यक्ष शाहीले बालिकालाई गुटुमा रहेको जीवनज्योति माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना गरिदिएका हुन्। शाहीले उच्च शिक्षा अध्ययनसम्म बालिकाको पढाइका लागि आवश्यक सबै खर्च आफूले बेहोर्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।