काठमाडौं- बिहीबार बाँके र कञ्चनपुर जिल्ला हुँदै सलहका थप दुई झुण्ड नेपाल प्रवेश गरेका छन्। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार बिहीबार दिउँसो बाँके जिल्लाको नरैनापुर क्षेत्रबाट र कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रबाट सलह नेपाल प्रवेश गरेका हुन्।
नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश गरेको लाखौंको संख्यामा रहेको सलहको झुण्ड हिरमिनीया, नौवस्ता हुँदै छिन्चु पुगेको र त्यहाँबाट दशरथपुर हुँदै उत्तरगंगा पुगेको छ। त्यस्तै कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको सलह साँझसम्ममा पनि त्यही क्षेत्रमा देखिएको र त्यहाँबाट अरु ठाउँमा पुगेको नदेखिएको केन्द्रले जनाएको छ।
सलह सामान्यतया राति बास बस्ने र कम चलायमान भई बास बसेको ठाउँमा मात्र नोक्सान गर्ने र बिहान सूर्योदय पश्चात् सक्रिय हुन्छ। आगामी आइतबारसम्म हावाको बहाव पश्चिम उत्तरतर्फ रहने पूर्वानुमान भएकाले विशेषगरी पश्चिम उत्तरतर्फ भारततर्फबाट सलह प्रवेश गर्नसक्ने र नेपालभित्रैका सलहका झुण्ड पनि अरु स्थानमा फैलन सक्ने अनुमान गरिएको छ।
यसैगरी प्यूठानमा यसअघि नै प्रवेश गरेको सलहको झुण्ड बिहीबार अर्खा रजवारा तथा स्याउलीबाङ्ग लगायतका क्षेत्रमा रहेको विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।