भैरहवा– रुपन्देहीका जनप्रतिनिधिहरुले विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै अभिभावकत्व ग्रहण गरेर बालबालिकालाई विद्यालय भर्ना गराएका छन्।
सांसद तथा नेताहरुले विद्यार्थी भर्ना अभियानका क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयमा विपन्न तथा अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेका हुन्।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले रोहिणी ४ का सुरज कोइरीलाई कक्षा ४ मा तथा रुपन्देही क्षेत्र नम्बर १(१) का प्रदेशसभा सदस्य डा कृष्णा न्यौपानेले मनोज केवटलाई कक्षा ७ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गरे। त्यस्तै, नेकपा एमाले रुपन्देहीका पूर्व जिल्ला कमिटी सदस्य ध्रुव खरेलले धर्मराज सहनीलाई कक्षा ८ मा भर्ना गराई अभिभावकत्व ग्रहण गरे।
अभिभावकत्व ग्रहण गर्दै प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले विकासको मुख्य आधार शिक्षा भएको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सके भर्ना अभियान अझै प्रभावकारी हुने बताए। उनले विद्यालय जानबाट वञ्चित बालबालिकाको अभिभावक बन्न पाउँदा खुसी लागेको बताउँदै यो अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए।
त्यस्तै, प्रदेशसभा सदस्य डा कृष्णा न्यौपानेले शिक्षालाई सबैको पहुँचमा ल्याउन सरकार लागिपरेको बताए। उनले विपन्नता र अभिभावक नभएकै कारण शिक्षाको मूलधारमा आउन नसकेका बालबालिकाहरुको माथिल्लो कक्षासम्म पनि आफू अभिभावक बन्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा एमालेका पूर्व जिल्ला कमिटी सदस्य ध्रुव खरेलले गरिबीकै कारण शिक्षा पाउने बालबालिकाहरुको नैसर्गिक अधिकार हनन हुन नदिन यो अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद यादवले विपन्न र अभिभावकविहीन बालबालिकाको अभिभावक बनेर साथ दिएकोमा आफूलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हौसला मिलेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।