काठमाडौं-सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। अविरल वर्षापछि गएराति गएको पहिरोले दुई घरमा क्षति पुर्याएको छ। त्यसमध्ये एकै घरका पाँच जना पहिरोमा परेका हुन्।
बेपत्तामध्ये साङबु शेर्पा (३५ वर्ष) र यान्जी शेर्पा (१६ वर्ष) काे शव भेटिएकाे र ३ जना हराइरहेकाे प्रहरीले जनाएकाे छ। सोमबुटि शेर्पा ८४ वर्ष, छिरिङ शेर्पा १२ वर्ष र सोमशाङ शेर्पा ४८ वर्ष हराइरहेका छन्। पहिरोले सेतीदेवी पञ्चकन्या आधारभूत विद्यालयको कम्पाउण्डमा पनि क्षति पुगेको छ।
पहिरोनजिकका १८ घरका ६० जना विस्थापित भएका छन्। उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ। बेपत्ताहरुको खोजीका लागि सशस्त्र प्रहरी र वडाध्यक्ष साङबु शेर्पालगायत घटनास्थल पुगिसकेका छन्। नेपाल प्रहरीलाई भने पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ।
ठाउँ–ठाउँमा बाटो भत्किएकाले प्रहरी पैदल नै गएको र सो स्थानमा पुग्न तीन घण्टा लाग्ने डीएसपी काफ्लेले बताए। घटनास्थल तातोपानी सुख्खा बन्दरगाहबाट नजिक रहेको बताइएको छ। पानी परिरहेकाले उद्धारमा समेत कठिनाइ भएको छ। सो ठाउँमा १८ घर र एक गुम्बा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।