काठमाडौं-यातायात क्षेत्रका समस्या समाधान गर्न निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेको छ।
दाहालनिवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोभिड-१९ पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए। त्यसअवसरमा दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए।
‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन्। कोभिड-१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ। यहाँ पनि केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ,’ उनले भने।
उनले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताए।
व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बिमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपीईको व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदूर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।