काठमाडौं- झुट्टा तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक (भ्याटबिल) बनाउने तथा भन्सार चोरी पैठारी निकासी गरी राजस्व चुहावट गरेको कसुरमा राजश्व अनुसन्धान विभागले २० कम्पनीविरुद्ध ६ अर्व ६० करोड रुपैयाँ बराबर बिगो मागसहित उच्च अदालत पाटनमा ४ वटा मुद्दा दर्ता गरेको छ।
विभागका अनुसार झुट्टा तथा नक्कली भ्याटबिल जारी गरी राजस्व छलि गर्ने माँ वैष्णो ट्रेड कन्सर्नसहित ९ वटा विभिन्न फर्मका संचालक र प्रोप्राइटर र मुख्य कारोबारी समेत १९ जनाले २ अर्ब १६ करोड ६५ लाख ९९ हजार ५ सय ३१ रुपैयाँ बराबर राजस्व चुहावट गरेको भेटिएको छ। यो मुद्दामा विभागले राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुर, पिकींकुमारी पण्डित, राजकुमार राउत कुर्मी, लक्ष्मी महतो धानुक, कृष्णलाल महतो, सुरेश महरा, राजेशकुमार कलवार र रुस्तम देवानलाई प्रतिवादी बनाएको छ।
त्यस्तै, अमितकुमार श्रीवास्तव, राम इश्वर महतो, परमेश्वर साह, मुकेशकुमार झा, राजाराम महतो सुढी, उर्मिला कुमारी, नसिबकुमार झा, मुहम्मद नास्रुद्दिन आलम, र निलकण्ठ श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
त्यस्तै झुट्टा तथा नक्कली भ्याटबिल बनाई राजस्व छलि गर्ने जयमाताजी ईन्टरप्राईजेज समेतका ४ वटा विभिन्न फर्मका ३ जना संचालक तथा प्रोप्राईटरहरुविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ। बाबुनन चौधरी कलवार, रोशनकुमार चौधरी र राज चौधरीलाई प्रतिवादी बनाई ६१ करोड ५४ लाख २२ हजार ३ सय ९५ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय समेतको मागदावीसहित मुद्दा दायर गरिएको हो।
बुधबार नै विभागले काठमाडौ महानगरपालिका वडा नम्बर १७ सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रालिका संचालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्व ४२ करोड ९८ लाख रुपैयाँ बराबर बिगोमागसहित मुद्दा दायर गरेको छ।
त्यसैगरी, काठमाडौं महानगरपालिका- २२ महाबौद्धमा संचालनमा रहेका जे.एस.एस. मोबाइल एण्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स, श्री श्यामबहादुर कन्सर्न प्रालि र श्री श्याम बाबा इन्टरप्राइजेजका संचालकसमेत ४ जनालाई १ अर्ब ३९ करोड ७ लाख बिगो कायम मुद्दा दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।