काठमाडाैं- निजी विद्यालयहरुका संगठन प्याब्सन तथा नेसनल प्याब्सनले बिहीबारदेखि अनलाइन कक्षा बन्द गरी शिक्षकलाई बेतलबी बिदा दिने निर्णय भएकाे जनाएका छन्। २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरी आफ्ना शिक्षक-कर्मचारीहरुलाई बेतलबी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएकाे प्याब्सन तथा नेसनल प्याब्सनका तर्फबाट बुधबार संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।
'संगठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालयसमक्ष पेश गरेको ज्ञापन पत्रमा उल्लेखित विषयहरुको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एक साता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ,' विज्ञप्तिमा भनिएकाे छ।
शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चातमात्र विद्यालय प्रशासन खुल्ला हुने जनाइएकाे छ। 'विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चात: अनुपातिक हिसाबले २०७७ वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीहरुको तलबलगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमशः भुक्तानी गरिनेछ,' विज्ञप्तिमा भनिएकाे छ, 'समस्या समाधनका लागि प्याब्सन तथा नेसनल प्याब्सन वार्ता संवादका लागि सदैव सकारात्मक रहेको व्याहोरा अनुरोध गर्दछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।