काठमाडौं– विशेष अदालतमा मुद्दाको नयाँ रेकर्ड कायम भएको छ। आर्थिक वर्ष २०७६/२०७७ मा सबैभन्दा धेरै मुद्दा दर्ता भएका हुन्। विशेष अदालतमा भ्रष्टाचार सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगका मुद्दाहरु मात्र दर्ता हुने गर्दछन्। २०५९ साल भदौ ६ गते विशिष्ठ अदालतको रुपमा विशेष अदालत गठन भएको थियो।
आर्थिक वर्ष २०७६/७७ मा ४ सय ५० थान नयाँ मुद्दा दर्ता भएका छन्। विशेषमा अहिले ८ सय ४३ थान मुद्दा विचाराधिन रहेका छन्। त्यसमध्ये ६ सय ६५ थान मुद्दा फर्छ्याैट हुन बाँकी छन्। २ वर्ष नाघेका मुद्दा ३१ थन र १८ महिना नाघेका मुद्दा ३९ थान रहेका छन्। १८ महिना भित्रका ५ सय ९५ थान मुद्दा छन्।
१३ प्रतिशत मुद्दामा सफाई
विशेषमा दर्ता भएका मध्ये १३ प्रतिशत मुद्दाले सफाई पाउने गरेको छन्। अख्तियार र विभागले दायर गरेको अभियोगपत्रमा प्रमाण अभाव तथा अनुसन्धानले पुष्टि नगरेका कारण अदालतले दाेषी ठहर गर्न नसक्ने विशेष अदालतका अध्यक्ष शिवराज अधिकारीले बताए। ८६.५१ प्रतिशत मुद्दा भने विशेष अदालतबाट दाेषी ठहर हुने गरेको उनले बताए।
विशेषले ४० करोड ५६ लाख १८ हजार ७३ रुपैयाँ धरौटीबाट राजस्व संकलन गरेको छ। यो आर्थिक वर्षमा मात्र १४ करोड २६ लाख ४३ हजार ९२ रुपैयाँ धरौटी जम्मा गरेको विशेषले जनाएको छ।
भ्रष्टाचारको शैली र प्रकृति फेरियो
विशेष अदालतका अध्यक्ष अधिकारीले विगतभन्दा अहिले अपराधको शैली र प्रकृति फेरिएको बताए। विगतमा सहज रुपमा हुने अनुसन्धान र प्रमाणको मूल्यांकन अहिले कठिन अवस्थामा पुगेको उनको भनाई छ। भ्रष्टाचार गर्ने तरिकामा पनि परिर्वतन भएकाले यसमा अध्ययन गरेर फैसला गर्न कठिन भएको उनको तर्क छ।
विशेषले यो आर्थिक वर्षमा भएका अधिकांश मुद्दाकाे फैसला लेखिसकेको छ। यो आर्थिक वर्षमा १७८ मुद्दा फैसला भएका थिए। त्यसमध्ये १७२ थान मुद्दाको फैसला तयार भएको र ४ थान फैसला अन्तिम चरणमा रहेको विशेष अदालतले जनाएको छ।
२०५९ सालमा स्थापना भएको अदालतको हालसम्म नियमावली बनेकाे छैन। नियमावली निर्माण गर्न अदालतले प्रयास थालेको छ। अदालतमा जनशक्ति नहुदाँ समस्या भएको अध्यक्ष अधिकारीले बताए। स्थापना हुदाँ जुन जनशक्ति अदालतमा थियो अहिले पनि त्यसैले काम गर्नु परेकाेले समस्या भएको अध्यक्ष अधिकारीको तर्क छ। मुद्दा फर्छ्याैटमा समस्या हुनुको कारण मध्ये मुख्य जनशक्ति अभाव पनि भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।