काठमाडौं-प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दाङबाट प्रवेश गरेको सलहको झुण्ड प्युठान हुँदै रोल्पा, रुकुमलगायत पश्चिम–उत्तरतर्फ अघि बढेको जनाएको छ।
यस्तै, नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु बेणी त्रिवेणी क्षेत्रमा आश्रय लिएकोमा पूर्वी तथा दक्षिणपूर्वी वायुको प्रभाव बढेसँगै पश्चिमतर्फ अगाडि बढ्ने पूर्वानुमान रहेको केन्द्रले जनाएको छ।
असार १३ देखि १६ सम्म प्रवेश गरेकामध्ये सानो संख्यामा अझै पनि बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा रहेको जनाइएको छ।
भारत उत्तर प्रदेशको सीमावर्ती क्षेत्रमा रहेका सलहहरु वायुको प्रवाहसँगै मध्य तथा पश्चिम तराईका क्षेत्र हुँदै पश्चिमतर्फ लाग्ने पूर्वानुमान छ। सो क्रममा मध्य तथा पश्चिम तराईका विभिन्न क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना रहेकाले ती क्षेत्रमा सजग हुन पनि केन्द्रले अनुरोध गरेको छ।
ती सलह बिस्तारै राजस्थानतर्फ प्रस्थान गर्ने क्रममा रहेको र पश्चिमतर्फ अगाडि बढ्ने सम्भावना रहेको पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।