खोटाङ- जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ। प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयसँगै रहेको निवासबाट ९ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
जिल्लाकै एक निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाडौंबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार ९ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारको ‘स्टीङ अपरेसन’का क्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य जाँच गरी अख्तियारको टोलीले काठमाडौं ल्याएको छ।
श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएका थिए। श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राहीबाट अख्तियारमै उजुरी गरेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिने क्रममा जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिल गरेर अन्यलाई प्रवेशमा रोक लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।