काठमाडौं- गत बिहीबारदेखि सुरु भएको अविरल झरीका कारण विगत २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन्। मनसुनी झरीका कारण ३५ घटना हुँदा १३ जिल्ला सबैभन्दा धेरै प्रभावित भएको र ठूलो मात्रामा जनधनको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार राती संखुवासभाको नसनलचोङ गाउँपालिका-१ स्थिति बेनसन्दामा गएको पहिरोले ८ घर बगाउँदा ४ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन्। संखुवासभाको सिलिचोङ गाउँपालिका- १ स्थित बेसिन्दा भन्ने ठाउँमा वर्षाका कारण गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ।
यस्तै तनहुँको रिसिङ गाउँपालिका- ८ स्थित पल्टयाङ भैसिलिकि भन्ने ठाउँमा २ घर पुरिँदा ५ जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्। यस्तै म्यागदे गाउँपालिका- ६ स्थित बेलौतेडाडामा घर माथिबाट पहिरो आउँदा एक किशोरको मृत्यु भएको छ। मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोलामा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
मोरङकै रतुवामाई नगरपालिका- ३ स्थित चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा एक जना बेपत्ता भएका छन्। जाजारकोटको बारेकोट गाउँपालिका- ४ मा पर्ने जिरीस्थित सार्की गाउँमा २५ गते गएको पहिरोमा बेपत्ता भएका थप १० जनाको सनाखत भएको छ भने २ जना अझै बेपत्ता छन्। सबैगरी विगत २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन्।
यस वर्षको मनसुन सुरु भएको जेठ ३० गतेदेखि असार २८ गतेसम्म ८४ जनाको मृत्यु भएको छ भने ४४ जना बेपत्ता भइसकेको गृह मन्त्रालयले जनाएको छ। सोही अवधिमा ७८ जना घाइते भइसकेका छन् प्राकृतिक प्रकोपबाट हरेक वर्ष मानिसको मृत्यु ५ सयको संख्यामा भएपनि बाढी पहिरोबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ।
भारी वर्षा पश्चिम नेपाल केन्द्रित
सोमबार राती देशैभर बदली हुँदा हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। तर, प्रदेश-१, २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तर मंगलबारदेखि भने पश्चिम नेपालका प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिमतिर भारी वर्षा हुने अनुमान गरिएको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मंगलबार राती देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार राती देशभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।