काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ अनुदान सहयोग कार्यक्रमअन्तर्गत तीनवटा उद्योगलाई १ करोड २५ लाख ६१ हजार रुपैयाँ बराबर अनुदान रकम दिएको छ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार बैंकले अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख १ हजार १ सय ४१ रुपैयाँ र गोइन्का स्टील प्रालिलाई ५ लाख ६० हजार ४ सय रुपैयाँ रकम अनुदान दिएको हो।
नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयन गरिरहेको छ। यस आयोजनाअन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलब्ध गराइन्छ।
यस आयोजनाअन्तर्गत कुनै एक इकाईले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधीभित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइन्छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सोमबार अनुदान पाउने उद्योगहरुलाई चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। श्रेष्ठले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।