काठमाडौं- साढे १३ वर्ष पूरानो दम्पत्ति हत्याका अभियुक्त पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले सितापाइलास्थित कान्तिपुर काष्ठ उद्योगका सञ्चालक दम्पत्तिको हत्या आरोपमा एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको साविकको पिपरिया गाविस १ घर भएका ३४ वर्षीय जेके भन्ने जयकिशोर साह रहेको सिआइबीका निर्देशक सहकुल थापाले जानकारी दिए। स्रोतका अनुसार सिआइबीले उनलाई भारतबाट पक्राउ गरी आइतबार ल्याएको हो।
घटना २०६३ पुस २० गते राति पौने ९ बजेको हो। मोरङका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीया सानु सुवेदी सितापाइलामा कान्तिपुर काष्ठ उद्योग सञ्चालन गरेर बसेका थिए। सोही उद्योगमा काम गर्ने जयकिशोर र बाँकेको प्रताप रानाले धारिलो हतियार प्रहार गरी उनीहरुलाई हत्या गरेका थिए। सो क्रममा सुवेदी दम्पत्तिका १५ वर्षीय छोरा विलभलाई समेत धारिलो हतियार प्रहार गरी मर्यो भनेर छाडेर अभियुक्तहरु फरार भएका थिए।
गम्भीर घाइते भएका विलभको वीर अस्पतालमा १४ दिन उपचार भएपछि ठिक भएका थिए। उनैले दिएको हुलिया र क्लुको आधारमा साढे १३ वर्षपछि विलभका बाबुआमाको हत्या गर्नेलाई सिआइबीले सार्वजनिक गरेको हो।
त्यसबेला उनीहरुको नाम बाहेक अन्य कुरा केही पनि थाहा नभएको र छोराले दिएको हुलिया अनुसार नै प्रहरी अनुसन्धानमा जुटेको थियो। बाबुआमाका हत्यारालाई खोज्न भन्दै विलभ अभियुक्तको गाउँसमेत प्रहरीसँगै पटक पटक पुगेका थिए। तर, प्रहरीले हत्याराको पहिचान गरी पक्राउ गर्न सकेको थिएन।
हत्या गरिसकेपछि उनीहरु भागेर भारतको लखनउ पुगेको र दुई वर्षसँगै बसेको पाइएको छ। त्यसपछि साह र राना छुट्टिएर बसेका थिए। पक्राउ परेका साहले नाम परिवर्तन गरेर भारतमा समेत राशन कार्ड लिएको पाइएको छ।
पक्राउ परेका साहलाई उक्त कर्तव्य ज्यानको कसुरमा कारबाही गर्नका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाइने सिआइबीले जनाएको छ। हत्यामा संलग्न अर्का राना भने अझै फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।