काठमाडाैं-शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जमलमा राष्ट्रिय पुस्तकालय बन्ने बताएका छन्। डा डिल्लीरमण-कल्याणी रेग्मी प्रतिष्ठानले गरेकाे डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार-२०७६ वितरण समारोहमा मन्त्री पोखरेलले सरकारले पुस्तकालयको महत्व बुझेकाले जमलमा राष्ट्रिय पुस्तकालयको भवन बनाउन लागेकाे बताए।
‘नेपालको समृद्धिमा शिक्षाको ठूलो महत्व छ। यसमा पुस्तकालयको पनि महत्त्वपूर्ण भूमिका हुने नै भयो,’ मन्त्री पोखरेलले भने, ‘त्यसका लागि हामीले भदौ अघि नै राष्ट्रिय पुस्तकालय नीति बनाइ सक्ने छौँ।’
प्रतिष्ठानले विसं २०६४ सालदेखि डा डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरण गर्दै आइरहेको छ। पुरस्कार शान्ति,अहिंसा, इतिहास, संस्कृति, शिक्षा समाजसेवा, पर्यटन विज्ञान प्रविधि, राजनीति आदिमा नेपालमा महत्वपूर्ण योगदान पुर्याउने स्वदेशी तथा विदेशी नागरिक तथा संस्थालाई वितरण गर्दै आइरहेको छ।
यस वर्ष प्रतिष्ठानले राष्ट्रिय शान्ति पुरस्कार २०७६ राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक महावीर पुन र अन्तराष्ट्रिय शान्ति पुरस्कार रिड नेपाल तथा रिड ग्लोबलकी संस्थापक अमेरिकी नागरिक डा एन्टोनिया न्युबरलाई प्रदान गरेको छ। पुरस्कारको राशी रु १ लाख रहेको छ।
युवा छात्रवृत्तितर्फ रक्षा खड्कालाई प्रदान गरिएको छ पुरस्कार राशी रु २५ हजार रहेको छ। कार्यक्रम बोल्दै राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक महावीर पुनले समृद्धिको लागि सरकारले अविस्कारमा कूल बजेटको १ प्रतिशत छुटाउन आग्रह गरे। अन्तर्राष्ट्रिय पुरस्कारतर्फ रिड नेपालकी संस्थापक एन्टोनिया न्युबरले स्वतन्त्रता र लोकतन्त्रको लागि पुस्तकालयको ठूलो महत्त्व रहेको बताइन्। एन्टोनियाले जुमबाट कार्यक्रम सहभागी जनाएकी थिइन्।
बैशाख पूर्णीमको दिन वितरण गर्ने गरिएको पुरस्कार यस वर्ष कोभिड १९ को कारण ढिला भएको प्रतिष्ठानले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।