डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकामा सोमबार पानीकाे गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। खानेपानीको शुद्धता जाचँ गर्न गाउँपालिकामै पहिलाे पटक पानीकाे गुणस्तर परीक्षण ल्याब स्थापना गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिए।
उनले भने, ‘आजबाट हामीले गाउँपालिकामै पानीको शुद्धता परीक्षण गर्न ल्याब स्थापना गरेका छौ, अब हामीले धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनुपर्ने समस्या समाधन भएको छ।’ सफा शुद्ध पानी नागरिकहरुसम्म पुगोस् भनेर पानी परीक्षण गरिन्छ।
पानीमा धमिलोपना जाँच, रासायनिक पदार्थकाे मात्रा कति छ? दिसाजन्य पदार्थ छ कि छैन? र पानीमा कोलोरिनको मात्रा कति छ? भनेर योजनाहरुबाट नमूनाका रुपमा ल्याइएको पानी ल्याबमा २४ घण्टाभित्र परीक्षण गरिने गाउँपालिका जलश्रोत अधिकृत शिन्धु अवस्थी बाेहराले बताइन्।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा गाउँपालिकाले साझेदारी गरेर ल्याब स्थापना गरिएको हो। ल्याबको सोमबार नै एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले उद्घाटन गरे। यस्तै सोमबार नै पानी सुरक्षा योजनासम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठि सपन्न भएको गाउँपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।