काठमाडौं-चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) ले मिर्गौला प्रत्यारोपणमा आफ्नो कुनै दोष नरहेको जनाएको छ।
कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले एक विज्ञप्ति निकाल्दै सबै कागजी प्रक्रिया पूरा भएपछि मात्रै मृर्गौला प्रत्यारोपणको काम भएको बताउँदै यसमा अस्पतालको दोष नरहेको जनाएका हुन्। कागजात जारी गर्ने सम्बन्धित निकायलाई समेत पत्राचार गरिएको र उनीहरुले ठीक रहेको बताएपछि मात्रै प्रत्यारोपणको काम भएका प्रधानले बताएका छन्।
यस प्रकरणमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताएका छन्।
प्रहरीको मानव बेचबिखन व्यूरोले नक्कली भान्जा बनाएर मृर्गौला प्रत्यारोपण गरिएको भन्दै १२ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा, अस्पतालका डा. बालकृष्ण कालाखेती, ललितपुर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर ६ की जमुना राजभण्डारी, भोजपुर घर भई भक्तपुर बस्ने रेश्मा राई, असई भीमप्रसाद खनाल, सई योगेन्द्रराज थपलिया र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी छन्। उनीहरुलाई अवैध तरिकाले मिर्गौला प्रत्यारोपण गरेको भन्दै पक्राउ गरिएको हो।
आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गरेर ब्यूरोले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।