काठमाडौं- अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी-पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले उद्वार गरेको छ। रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका करिव तीन सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद केसीको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले सो ठाउँका पीडित नागरिकहरुलाई सुरक्षित स्थानमा सारेको हो।
यसैगरी, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा बाढी- पहिरोबाट विस्थापित ६३ घर परिवारका २ सय १५ जनालाई असार २६ गते सुरक्षित स्थानमा सारिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले उनीहरुको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याएर राखेकाे बताइएकाे छ। सो ठाउँमा बाढी-पहिरोका कारण एक जना बेपत्ता भएको बताइएको छ। बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दीस्थित हरपन खोलाको बाँधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरुको खोजीकार्यको लागि असार २६ गते विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिसहितको एपीएफ टोली जुटेको छ। सोही ठाउँ बस्ने २६ वर्षीय लेखनाथ बस्नेत र २१ वर्षीय प्रयुस गुरुङ उक्त खोलाको बाँधमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको खोजी गरेकाे हाे।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ४ बस्ने २५ वर्षीय जितबहादुर थारु र २५ वर्षीया प्रेमकुमारी थारुलाई बबई खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएकाे छ। बेपत्ता भएकाे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल सुरक्षा वेश सानोश्रीबाट सशस्त्र प्रहरी नायव निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीयवासिन्दा उनीहरुको खोजी कार्यमा जुटेका छन्।
झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित पुरानो शणामती टोल बस्ने ३५ वर्षीय राजेश गणेश स्थानीय बिरिङ्ग खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल फरवार्ड सुरक्षा वेश पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्बुको कमाण्डको एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेका छन्।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई खोलाले बगाएर बेपत्ता बनाएकाे जानकारी हुनासाथ सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायव निरीक्षक धनश्याम गौतमको कमाण्डमा खटिएको एपीएफ टोली खोजी कार्यमा जुटेको सशस्त्र प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।