काठमाडौं- अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक सेयरमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ। कम्पनीले सर्वसाधारणतर्फको ३० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ।
३० हजार कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारीहरुको लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणले पाउने छन्।
कम्पनीले असार २५ गते सार्वजनिक निष्काशन गरेको थियो। आज बिहान १० बजेसम्म तीन लाख ३१ हजार आवेदकले एक करोड २० लाख ९० हजार कित्ताको लागि आवेदन दिइसकेका छन्। मागभन्दा ४.४२ गुणा बढी आवेदन परिसकेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन्। सर्वसाधारणले मेरो सेयरको अनलाइन एप्लिकेसनमार्फत् घरबाटै आवदेन दिन सक्ने छन्। साथै आस्वा सुविधा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवदेन दिन सकिने छ।
अहिलेसम्म आवदेन दिनेको संख्याका आधारमा सबैले सेयर प्राप्त गर्न सक्ने छैनन्। कम्पनीको सर्वसाधारणतर्फको सेयर सबैलाई १० कित्ताको दरले भाग लगाउदा २ लाख ७३ हजारले मात्रै सेयर पाउने छन्। तर, आज बिहानसम्ममा तीन लाख ३१ हजारको आवेदन परिसकेको छ। त्यसैले कसैले पनि १० कित्ताभन्दा बढि सेयर पाउने छैनन् र ‘लक्की ड्र’मार्फत् सेयर बाँडफाँड हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।