काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ भन्दै मिलाइदिने प्रलोभन देखाएर पैसाको बार्गेनिङ गर्ने ९ जनालाई बिहीबार अख्तियारको टोलीले नियन्त्रणमा लियो।
आफूलाई अख्तियारका कर्मचारी र अनुसन्धान अधिकारी बताउँदै उनीहरुले काठमाडौंको बुढानिलकण्ठस्थित चपलीका एक जग्गा व्यवसायीसँग बार्गेनिङ गरेपछि अख्तियारको स्टिङ अप्रेसनमा परेका थिए। काठमाडौं बुढानिलकण्ठ नगरपालिका- २ चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियारमा उजुरी परेको भन्दै उनीहरुले बार्गेनिङ गरेका थिए।
डर‚ धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग तथा महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उक्त रकम लिन आएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो।
‘मोवाइल फोनबाट सूचनाकर्तालाई पटक–पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भन्ने गरेकव् भन्दै अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रक्रिया अगाडि बढेको भनी जानकारी गराउने गरेका थिए। अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस् जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको उजुरीपछि अख्तियारको स्टिङ अप्रेसन टोलीले पक्राउ गरेको हो।
व्यवसायीसँग पैसा लिन आएको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ। पक्राउ पर्नेमा आफूलाई ज्योतिषी बताउने अर्जुनकुमार थापा क्षेत्री सहित रहेका थिए। अख्तियारले क्षेत्री बाहेक विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई पक्राउ गरेको हो। थापा यसअघि पनि ज्योतिषकर्ममार्फत् अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।