काठमाडौं- काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरेको छ। चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौतमले बताए।
उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजनविपरीत यात्रुसँग भाडा लिएको पाइएकाले पक्राउ गरिएको जानकारी दिए।
बिहीबारमात्र उपत्यकाबाट १६ वटा निजी सवारी साधनहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ। निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ।
प्रवक्ता एसपी बामदेव गौतमले ती सवारी साधनहरूलाई प्रयोजनविपरीत कसुरमा ट्राफिक कारवाही गरी पुन: सोही गल्ती नगर्न निर्देशन दिई छाडिएको बताए। उनले भने, ‘फेरि पनि रातो प्लेटमै भाडा लिएर यात्रु बोकेको पाइए कानुनअनुसार कडा कारबाही गरिनेछ।’
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडा लिएर यात्रु ओसारपसार गर्न नपाउने उल्लेख भएकाले पनि उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।