काठमाडाैं- भारतीय सञ्चार माध्यमले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनर्गल प्रचार गरेकाे भन्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्। उनले अनर्गल प्रचारले सीमा नाघेकाे बताएका छन्।
प्रवक्ता श्रेष्ठले ट्विट गर्दै भनेका छन्, 'भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर।'
श्रेष्ठले सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एकढिक्का रहेकाे बताए। 'हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का। विदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौं। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो', उनले लेखेका छन्।
भारतीय टीभी च्यानल जी मिडियाले हालै प्रधानमन्त्री केपी शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियाे। ‘ओली कि ईश्कीया’ शीर्षकमा प्रसारित रिपोर्टमा टिभीले चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै उनकै जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।