सलह हुँ सलह। म सलह किरा। म फट्यांग्रा जातको हो। ए होइन, म त किरा पो हुँ, जात त हुँदैन मेरो। तर, के गर्नु, नेपाल छिर्नासाथ 'जात' सोध्छन् र नेपाल आउँदा केही अध्ययन गरेर गरेर आएका छौं।
हुनत म हेर्दा फट्यांग्रा जस्तो भए पनि म फट्यांग्राभन्दा डरलाग्दो छु। म कहिल्यै एक्लै यात्रा गर्दिनँ। हामी सबै साथसाथ उड्छौं। मेरो झुन्ड वा भनौं समूह गजबको छ। खबरदार! कसैले म एक्लै छु र केही गर्न सक्दिनँ भन्ने नसोच्नुहोला। मलाई कम आकलन गर्नेहरुलाई म ठूलो चुनौती हुँ। म एक्लैलाई हेर्दा सानो छु तर हामी समूह मिलेर तपाईंहरुको ठूलो बालीनाली नाश गर्न सक्ने दम्भ छ। हामी कतै देखियौं भने त्यो ठाउँको कृषि उब्जनीमा ठूलो मार पर्नेछ। ठूलो अन्नबाली नाश हुने प्रष्ट इतिहास बोकेका छौं।
'सलह' सुन्दै आनन्द आउने नाम छ, हाम्रो। सललल बगी आउने चिसो हावा झैं सररर उडी हिँड्छौं, हामी। हामी आकाशमा कैयौं माइल उडेर यात्रा गर्छौं। हामी लाखौंको संख्यामा एक स्थानबाट अर्को स्थानमा जान सक्छौं। हामी एक देशबाट अर्को देश जान सक्छौं।
तपाईंहरुलाई लाग्यो होला, भिसा हान्नुपर्छ होला। सुन्दा अचम्म लाग्ला, हामीलाई विश्वको सबै देशमा उड्न भिसा लाग्दैन। हामी स्वतन्त्र उडछौं। घण्टौं उड्छौं। हामी उड्ने कुरालाई हावाको बेगले निर्धारण गर्छ। हावाको विरुद्धमा उड्न हामीलाई गाह्रो हुन्छ। हामी कति किलोमिटर उड्न सक्छौं भन्ने लाग्यो होला हैन? उत्तर सजिलो छ- निरन्तर लाखौं माइलसम्म।
हामी अफ्रिकाबाट उड्दै नेपाल आएका हौं। लाखौको संख्यामा फुरफुर गर्दै बुद्धको देश नेपाल आयौं। यही बीचमा धेरै देश घुमियो, अत्यन्त आनन्द आयो। मेरो साथीहरु सबै सन्तुष्ट र उत्साहित हुँदै दुनियाँ शयर गर्यौं। इरान, पाकिस्तान, भारत हुँदै अहिले नेपाली आकाशमा छौं। नेपाली माटोमा उब्जनी भएको मकै, साग सब्जी, फलफूल, धान आदि अन्नबाली अन्य देशमा भन्दा स्वादिष्ट र मनमोहक पायौं।
तर यतीका देश घुम्दा पनि नलागेको डर नेपाल छिरेपछि लाग्यो। हामीलाई धेरैले भनेका थिए नेपाल जानू 'अतिथी देव भव:' को अर्थ थाहा हुन्छ भनेर। तर, यहाँ अवस्था फरक रहेछ। हामीलाई भारतीय सीमाबाट छिर्नासाथ पहिला भन्सारमा रोकियो र अनुगमन गरे सशस्त्रले। हामी नेपालको त गजबको सुरक्षाबल रहेछ आकाशमा पनि कडा सुरक्षा रहेछ अब छिर्न नपाइने भइयो भनेर अनेकौं कारुणिक भावना जाहेर गर्यौं तर सुन्ने कोही भएन। त्यहाँ हामीलाई एयर होल्ड गरियो करिब ३ घण्टा। एकजना भन्सारका कर्मचारीले भने, 'नेपालको हवाई क्षेत्र प्रयोग गरेका छौ तिमीहरुले ल्यान्डिङ पाउन कहाँ सजिलो छ र?'
खिस्रिक्क पर्दै हाम्रो विज्ञ एवं प्रवक्ता सलहले त्यही एउटा कर्मचारी सँग करिब एक घण्टा छलफल गरेर जुक्ति पुर्याए। निर्क्यौल निकाले र केही घुस दिने भए प्रवेश गर्न पाईने सन्देश ल्याए। पैसा त थिएन हामीसँग तर भर्खरै मात्र हामीलाई समाएर ल्याउनेलाई प्रतिकेजि २० रुपैयाँले खरिद गर्ने सूचना जारी गरेको एफएममा सुनेका थियौं।
सबै साथीहरु माझ आकस्मिक बैठक बसेर हाम्रो कमान्डर सलहले कमान्ड दिए- साथीहरु हो हामी यति टाढाबाट हिमाली देश हेर्न आयौं तर यहाँ प्रवेश पाउन निकै कठिन रहेछ। त्यसैले हामीमध्ये केहीले आफ्नो यो झुन्डको यात्राका लागि बलिदान दिनुपर्ने भयो। अनि प्रवेश गर्न पाउने भयौं।'
उनले फेरि थपे- 'स्वतन्त्र मृत्यु स्वीकार गरी शाहदत प्राप्त गर्ने अवसर छ। बलिदान गर्नू।'
त्यसपछि कैयौं हाम्रो साथीहरु स्वयं आहुति दिए। आहुति दिनेहरु लगभग पाँच केजि जति भए। हामीले कर्मचारीलाई बुझाएपछि उडान गर्न अनुमति दिइयो। हामी पश्चिम रोल्पा पुग्यौं। त्यहाको एक गाउँको बाली खान व्यस्त भएका थियौं। त्यहाँको वडाध्यक्षको आवाज आयो- यो हाम्रो मल्लको अन्नबाली सखाप पार्ने तिमीहरु को हौ?'
'हामी सलह। अफ्रिकाबाट आएका', मैले उत्तर दिएँ।
'ए काला जाति पो?', कडकिएर उताबाट आवाज आयो।
नरम भएर मैले भनें- 'फट्यांग्रा जातका हौं हजुर।'
'एऽऽऽ तिमीहरु तल्लो जातका हौ? अब तिमिहरुलाई छाड्दैंनौ' भन्ने प्रतिउत्तर आयो।
हामी अन्नबाली खाँदै गर्दा चार तिरबाट पासो थापी हाम्रो धेरै साथीको चोला फेरियो, धेरै घाइते भए र कोही भेरी नदिमा हामफालेर ज्यान जोगाए। हाम्रो सर्वनाश होला भनी हामी त्यहाँबाट मुटु कमाउँदै उड्यौं। हामी झुन्डमा धेरै संख्या भए पनि हजारौं साथीहरु मरे र मारिए। हाम्रो परिवारको झुन्ड सानो हुँदै जाँदै थियो।
अझ केहीले हामीलाई समाएर टिकटकमा भिडिओ बनाए। नाचेको, गाएको, ड्रम बजाएको, अन्न खाएको आदि इत्यादि भिडिओ बनाएर मोडल जस्तो बनाइदिए। नेपालमा 'अतिथी देव भव:' को सार त्यही मात्र पायौं।
अन्य देशमा नेपाल जस्तो टिकटक चलाएको भए हामी अझ राम्रो कपडा लाएर, शृंगार गरेर, कोभिड १९ को समयमा मास्क लाएर आउने थियौं। सम्झिँदा पनि मन फुरुंग लाग्ने सेलिब्रेटी बनेकोमा।
तर के गर्नु जालमा समाएर हाम्रा साथीहरुलाई कतिले भुटी खाने, कुखुरालाई दाना बनाउने, मल बनाउने आदि गरेर हाम्रो झुन्ड केही हजारौंमा मात्र सीमित भयो।
हामी धेरै कृषकको अन्नबाली सखाप पारेकाले पाप पखाल्न डराउँदै पशुपतिनाथको दर्शन गर्न काठमाडौं लाग्यौं। बीचमा रेडियोमा डरलाग्दो समाचार आयो। नेपालका कृषिमन्त्रीले मिडियामा भनेछन्, 'सलह किरालाई मार्ने मेटालिका भन्ने संगीतको धुनले तिनीहरुलाई ठूलाठूला स्पिकर अन्नबालीमा राखेर कक्रक्क पारिदिन्छु।'
अहो! कति डरलाग्दो धारणा रहेछ। यत्रो यात्रामा कसैले केही गर्न सकेका थिएनन् तर नेपालको मन्त्री कडा रहेछन्। अन्धकार छायो चारैतिर र अत्यन्त त्रास लागेर आयो। सबै साथीहरु डराए अनि पुन: देश फर्कने निचोड निकाल्यौं।
त्यहाँबाट हामी भारतीय भूमि हुँदै फर्कन लागेको थियौं। भारत पुग्दा सबै भारतीय मिडियाका क्यामेरा आकाशमा हामीलाई देखाउँदै थिए। प्रमुख समाचारको विषय बनेको रहेछ। एकजनाको टिभीमा टाँसिएर भन्दैथियो- 'देखिए ये आकासमे नेपाल ने सीमा सुरक्षाके लिए एयर फोर्स भेजा है भारतीय सरजमिन पर हमला कर्ने के लिए।'
यो समाचारले हामी भारतमा सुरक्षित छैनौं भन्ने लाग्यो। भारतीय सेनाले हवाई फायर गरे। धेरै साथीहरु हताहत भए। धेरैले ज्यान गुमाए। अचम्मित पर्यौं। त्यही मार्गबाट आउँदा केही रोकटोक थिएन तर अहिले नेपालबाट फर्किँदा छिन्नभिन्न हुनपर्यो। अझ हामीलाई 'चाइनिज सलह' भनेर अफवाह फैलाइएको रहेछ, भारतमा। प्राण जोगाउन हम्मेहम्मे भयो। अहिले हामी केही मात्र बाँचेका छौं।
सबै साथीहरु मिली संकल्प गर्यौं कि नेपालमा अब भविष्यमा कहिल्यौं आउँदैनौं भनेर। नेपालको त्रासले मानसपटलमा गहिरो असर गरेको छ। कसो ज्यान बाँच्यो। अझ मेटालिकाको धुन बजाएको भए हामी सबै कक्रक्क पर्ने थियौं होला। त्यो धुन बजाउनुअघि भाग्यले नेपाल छाडियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।