काठमाडाैं- नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ। गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
क्षेत्री मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।
ठाकुरप्रदसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा जाने भएपछि सरकारले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हाे। क्षेत्री नीति निर्माण तहमा अब्बल प्रहरी अधिकृत मानिन्छन्। मानव स्रोत एवं प्रशासन विभाग प्रमुखको भूमिकामा रहेका क्षेत्रीले डिआइजी हुँदा महानगरीय प्रहरी कार्यालय रानिपोखरी (मेट्रो) तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै एसपी हुँदा क्षेत्रीले कास्की र झापाको कमान्ड सम्हालेका उनले डिएसपी हुँदा धादिङ प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए। इन्सपेक्टर हुँदा सल्यान, सिन्धुपाल्चोकमा समेत थापाले काम गरिसकेका छन्। उनले लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन्।
२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नवनियुक्त आइजिपी क्षेत्रीले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।