काठमाडौं-लकडाउनका बेला लिफ्ट दिने बहानामा चोरी हुने गरेको पाइएको छ। पैदल हिँडिरहेका महिलालाई बुलेट मोटरसाइकलमा लिफ्ट दिने र क्याफे, रेष्टुरेन्ट, गेस्टहाउसमा लगेर गरगहना तथा मोबाइल चोरी गर्ने समूहका एकजना पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो।
यसरी चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले रामेछापको उमाकुण्ड गाउँपालिका २ का २६ वर्षीय राजकुमार सुनुवारलाई पक्राउ गरेको छ।
प्रहरीले उनले प्रयोग गर्ने बा ८७ प १६८३ नम्बरको चोरीकै बुलेट बाइक र चोरीकै ११ थान मोबाइलसमेत बरामद गरेको छ।
लिफ्ट दिएपछि उनले महिलाहरुलाई चिया, कफी खाउँ भन्दै क्याफे तथा रेष्टुराँमा पुर्याउने र महिलाहरु हातमुख धुन बाथरुम गएको मौकामा मोबाइल तथा झोलामा भएका नगद र अन्य बहुमूल्य सामान चोरेर फरार हुने गरेका थिए।
यसरी चोरी गरेका सामानहरु उनले सस्तो मूल्यमा बिक्री गर्दै आएका थिए। सामान बेचिसकेपछि आफैंले फोन गरेर आफू डिएसपी भएको र बेचेको सामान पुनः आफैंलाई फिर्ता दिन भन्दै धम्की दिने गरेको पाइएको परिसरका प्रवक्ता राजकुमार केसीले जानकारी दिए।
सुनुवारबाट पीडित महिलाले दिएको उजुरीका आधारमा खटिएकोे प्रहरी टोलीले उनलाई बुधबार बिहान ४ बजे बालाजुस्थित बिजी मल अगाडिबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।