काठमाडौं-झोलामा गैंडाको खाग बोकेर ग्राहक खोज्दै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका ४ घर भई ललितपुर गोदावरी नगरपालिका २७ बस्ने ६० वर्षीय सरोज गुरुङ, सिन्धुलीको दुधौली नगरपालिका ११ घर भई भक्तपुर नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ घर भई सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुलीको खुर्कोट घर भई सिनामंगल बस्ने २५ वर्षीया शिखा गिरी बराल छन्।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार सिनामंगलबाट पक्राउ गरेको हो। उनीहरु मध्ये बुद्धि क्षेत्रीले खरानी रंगको झोलामा उक्त खाग बोकेर ग्राहक खोज्दै हिँडेको परिसरले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट गैंडाको खागजस्तै देखिने साढे ४ इन्च लम्बाई, फेदको गोलाई ५ इन्च भएको वस्तु बरामद गरेको छ।
पक्राउ परेका चारै जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।