सिन्धुपाल्चोक– ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल २०७२ सालको भूकम्पमा आमा गुमाएका विनोद माझीको अभिभावक बनेका छन्।
४ वर्षअघि बाबुले छाडेर गएका र आमा भूकम्पमा बितेपछि मामाघर बस्दै आएका विनोदलाई मन्त्री दुलालले सिन्धुपाल्चोकको इन्द्रावती आधारभूत विद्यालयमा सम्पूर्ण खर्च बेहोर्नेगरी भर्ना गराएका हुन्।
यसअघि विद्यालयमा भर्ना भए पनि नियमित रुपमा नजाने गरेका विनोदलाई मन्त्री दुलालले कक्षा १२ सम्म पढाइदिने भएपछि अब नियमित विद्यालय जाने बताएका छन्।
सरकारले विद्यार्थी भर्ना अभियानको सुरुवात सीमान्तकृत समुदायबाट गरिनुपर्ने घोषणा गरेसँगै मन्त्री दुलालले माझी समुदायबाट भर्ना अभियान सुरु गरेका हुन्। उनले विद्यालयको भर्ना रेकर्ड फाइलमा विनोदको नाम लेखेर उनलाई झोला, कापी, विद्यालय पोसाक लगायतका सामग्री दिँदै अभियानको सुरुवात गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।