सुनसरी- सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ चारकुनेस्थित सीमा इलाकाबाट असार २२ गते एपिएफ टोलीले २ लाख ७६ हजार ७ सय ८० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २८ वर्षीय मोहम्मद आरिफ र ३० वर्षीय कमरु जमा छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट हरिपुरबाट खटिएको एपिएफ टोलीले पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरूमा साथमा ५ सय दरको ५ सय ५२ वटा, दुई सय दरको १ वटा, एक सय दरको ३ वटा, ५० दरको ३ वटा, २० दरको ३ वटा र १० दरको ७ वटा भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो।
एपिएफ टोलीले त्यसबेला उनीहरुको साथबाट २ सय ५० नेपाली रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।