सुरुङ्गा- २०६२/६३ को दोस्रो जनआन्दोलनका सहिद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन्। सहिद परिवारका लागि सरकारले बनाएको नीति तथा कानुन सरकारी निकायबाटै कार्यान्वयन नहुँदा सहिद परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएको हो।
बैसाख ६ गते आजकै दिन निरंकुशताको अन्त्य र लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा झापाको सदरमुकाम चन्द्रगढीमा तत्कालीन शाही नेपाली सेनाले चलाएको गोली लागेर विश्वास र राजन गिरीले सहादत प्राप्त गरेका थिए। तर, आज उनै सहिद परिवार सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।
सरकारले दोस्रो जनआन्दोलनका सहिद परिवारलाई परिचयपत्र र जीवन निर्वाह भत्ता दिने कानुनी व्यवस्था गरेको छ। तर, सहिदका पिताको मृत्युपश्चात् जीवन निर्वाह भत्ता भद्रपुर नगरपालिका–६ निवासी सहिद विश्वासकी आमा मीना विश्वासले पाएकी छैनन्।
गत वर्षको कात्तिक महिनामा सहिद पिता शान्ति विश्वासको निधन भएको थियो। निधनपछि सुरजकी आमा मीनाले सरकारले दिने आजीवन निर्वाह भत्ता आफ्नो नाममा नामसारी गर्न नसक्दा सरकारी सेवाबाट वञ्चित हुनुपरेको हो।
मासिक रु सात हजारका दरले सरकारले सहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्दै आएको छ। ऐतिहासिक जनआन्दोलनका सहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन गृहमन्त्रालयले रातो रंगको अधिकारपत्र प्रदान गरेको छ। सहिद पिताको निधनपश्चात् गृहको अधिकारपत्र आमाको नाममा नामसारी गर्न मिल्ने उल्लेख गरिएको छ। तर, सहिद सुरजकी आमाको नाममा अधिकारपत्र बन्न सकेको छैन।
भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले भने सहिद परिवारले पाउँदै आएको सुविधाबाट वञ्चित गर्न नहुने बताए। 'सहिद परिवारलाई राज्यले दिने सुविधामा कुनै कन्जुस्यार्इं नगरी दिनुपर्छ, यो कुनै फर्जी कागज बनाएर राज्यसँग सुविधा मागेको होइन,' उनले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।