काठमाडौं- सवारी पास विना यात्रु ओसार पसार गरेको अभियोगमा दुईजना सवारी चालकलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ज ११३५ नम्बरको सवारी साधनका चालक बर्दिया बढैया गाउँपालिका ५ घर भएका २९ वर्षीय संजय बिक र डोटीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ज ८६ नम्बरको ट्याक्सीका चालक काभ्रे धुलिखेल नगरपालिका १ घर भएका ३० वर्षीय संखमान तामाङ रहेका छन्।
पक्राउ परेका चालकमध्ये बिकले पास विना १७ जना यात्रुहरुसँग २५ हजार रुपैयाँ असुल गरी आएको र तामाङले ३ जना यात्रुहरुसँग ३० हजार रुपैयाँ पाउने सर्तमा अनाधिकृत रूपमा ल्याएकाे अनुसन्धानको क्रममा खुल्न आएको हो। पक्राउ परेका दुवै जनालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।