काठमाडौं- जनकपुर उपमहानगरपालिका- २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन पञ्जियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या आरोपमा भारत उत्तर प्रदेशका ३२ वर्षीय दीप सिंहलाई पक्राउ गरेको हाे।
सोमबार सार्वजनिक गरिएका सिंहले हत्या गरेको स्वीकार गरेको धनुषाका एसपी रमेशकुमार बस्नेतले बताएका छन्। प्रहरीले सार्वजनिक गरेका सिंह जनकपुरकै कुर्थामा मिश्र एण्ड चौधरी इन्डसट्रिजमा काम गर्दै आएका थिए। भैसी चराउन गएकी ती बालिकालाई सिंहले आँप दिने प्रलोभन देखाएर बलात्कार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।
आँप दिने प्रलोभन देखाएर ती बालिकालाई सिंहले आफूले काम गर्ने इन्डसट्रीजकै पछाडि लगेर मुख थुनेर बलात्कार गरेका थिए। बलात्कारपछि पाेल खुल्ने भएकाले सिंहले बालिकाको समेत हत्या गरेको पाइएको छ। हत्यापछि उनले शव नदिमा लगेर फालेका थिए।
गत बुधबार भैसी चराउन भनेर गएकी ११ वर्षीया बालिका कन्चन बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार घरभन्दा एक किलोमिटर टाढाको दुधमति खोलामा भेटिएको थियो। नग्न अवस्थामा शव भेटिएपछि बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेर प्रहरीले अनुसन्धान गरेको थियो। सो क्रममा घटनास्थल नजिकै बस्ने एक साधुसहित प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।