नुवाकोट- नुवाकोटको किस्पाङ गाउँपालिकामा ८२ प्रतिशत पुनर्निर्माणको काम सकिएको छ।
भौगोलिक हिसाबले नुवाकोटको सदरमुकाम विदुरबाट निकै टाढा रहे पनि किस्पाङ जिल्लाकै सबैभन्दा बढी पुनर्निर्माण गराउन सफल भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए। निकै विकट मानिएको किस्पाङले पुनर्निर्माणमा लोभलाग्दो प्रगति हासिल गर्दा सुगम मानिएको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाले सोचेजति प्रगति गर्न सकेका छैनन्।
बेलकोटगढीमा ८९ प्रतिशत पुनर्निमाण सकिँदा विदुरमा ६५ प्रतिशत मात्र पुनर्निर्माण सकिएको आवास पुनर्स्थापना तथा पुनर्निर्माण समन्वय मञ्च नुवाकोटले जनाएको छ।
४ हजार २ सय ८० लाभग्राही रहेको किस्पाङमा पोहिलो किस्ता बापतको अनुदान रकम शतप्रतिशतले लिएका छन्। त्यस्तै दोस्रो किस्ता लिनेहरु ६८ प्रतिशत (३ हजार ६ सय ६८ जना) छन्। तेस्रो किस्ता लिनेहरुको संख्या ३२ प्रतिशत पुगेको किस्पाङ गाउँपालिकाले जनाएको छ।
किस्पाङमा तेस्रो किस्ता प्राप्त गर्नेहरुको संख्या १ हजार २ सय ८५ जना रहेको राष्ट्रिय पुनर्निर्माण कार्यालय नुवाकोटले जनाएको छ। गाउँपालिकामा एक हजार १ सय १० घर निर्माण सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष लामाले बताए।
किस्पाङमा पुनर्निर्माणले तीव्रता पाउनुमा गैरसरकारी संघसंस्थाको महत्वपूर्ण योगदान रहेको गाउँपालिका प्रमुख लामा बताउँछन्। अनुदान रकमको विषयमा भूकम्पपीडितहरुलाई बुझाउन नसक्दा पुनर्निर्माणले सोचेजस्तो सफलता हात पार्न नसकेको उनले बताए। उनका अनुसार पुनर्निर्माणमा कामदारको पनि अभाव देखिएको छ।
गिट्टी, बालुवा र छडले मात्र घर बलियो नहुने भन्दै उनले स्थानीय स्रोत र साधनको पनि भरपुर प्रयोग गर्न स्थानीयलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।