काठमाडौं- कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकालेको आरोपमा थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको रुबीभ्याली गाउँपालिका २ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय सौजन तामाङ छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गएराति जावलाखेलबाट पक्राउ गरेको हो।
कृषि विकास बैंक मुख्य कार्यलय तथा शाखा कार्यालय न्यूरोड काठमाडाैं समेतबाट अपराधिक समूहका व्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएका थिए। पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको महाशाखाले जनाएको छ।
यसअघि गत गत भदौ ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्यूरोडबाट सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार भुक्तानी लिइएको पाइएको थियो। त्यस्तै श्रवणकुमार श्रेष्ठको खातमा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागेर सिस्टम जाँच गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुकाे खातामा बैंकको मौजादबाट बैंकको सिस्टम ह्याक गरेर रकम जम्मा गरेको पाइएको थियो।
यसरी उनीसहितको समूहले सिस्टम ह्याक गरेर ४ करो ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानीसमेत गरेको पाइएको थियो। यही घटनामा महाशाखाले यसअघि श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरी कारबाही गरिसकेको थियो भने सौजन भने फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।