काठमाडौं- अघिल्लो साता नेपाल भित्रिएका सलहका झुण्डहरु तितरबितर भएका छन्। अहिले कुनै पनि जिल्लामा सलहका समूह देखिएको सूचना नआएको सलह सूचना केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीले बताए।
सुवेदीका अनुसार नेपाल भित्रिएका सलहहरु अहिले समूहमा देखिन छाडेका छन्। ‘नेपाल भित्र छिरेका सलहहरु तितरबितर भएका छन्। प्युठानमा धेरै थिए। तर त्यहाँबाट केहि बाग्लुङतिर केहि रुकुम रोल्पातिर गए। त्यसकारण झुण्डहरु तितरबितर भएका कारणले अब धेरै नोक्सानी पनि गर्दैनन्। कुनै पनि जिल्लाबाट अहिले सलहका समूह देखिएको भन्ने सूचना आएको छैन’, सुवेदीले भने।
उनका अनुसार लगातार पानी परी राखेको र हावाको बहावका कारण समूहमा रहेका सलह बिस्तारै छुट्टिदै गएका छन्। 'अहिले सलहका समूहहरु देखिन छाडेको र यिनीहरु क्षति गर्ने स्थितिमा नरहेको उनले बताए।
भारतबाट तत्काल आउने सम्भावना पनि न्यून देखिएको छ। ‘भारतमा त अझै सलहका ठूला झुण्ड छन्। मौसम र हावाको बहावको अवस्था हेर्दा तत्काल तीन–चार दिनभित्र नेपाल आउने सम्भावना छैन। तर फेरी हावामा एकदमै परिवर्तन आयो भने अकस्मात रुपमा आउन पनि सक्छन्। उत्तर पश्चिमतिर हावाको बहाव बढ्यो भने फेरी नेपाल प्रवेश गर्ने सम्भावना रहन्छ’, सुवेदी भन्छन्।
सलहले पानी र चिसो मन नपराउने भएका कारण नेपाल भित्र रहेका सलहका झुण्डहरु बिस्तारै हराउँदै गएका हुन्। वर्षातको पानीले सलहका पखेटा भिजेपछि उनीहरुलाई उडान गर्न अप्ठेरो हुने विज्ञहरुको भनाई छ। गतिविधि सुस्ताउँदै गएपछि बालीनालीमा पुर्याउने क्षतिको सम्भावना पनि कम रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।