विराटनगर– प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे बुधबार मोरङको कटहरी गाउँपालिका–७ स्थित थलाहा पुगे। थलाहामा उनको एउटै उद्देश्य थियो– बालबालिका विद्यालय भर्ना।
प्रदेश सांसद, गाउँपालिकाभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी र प्रधानाध्यापकसहित गाउँ छिरेका मन्त्री घिमिरेले बालबालिका स्कुल पठाउन आग्रह मात्र गरेनन्, उमेर पुगेका तर विद्यालय नगई घरमै बसेका बालबालिकालाई तत्कालै विद्यालयमा भर्ना पनि गराए।
उनले त्यस्ता बालबालिकालाई अभिभावकसहित आफ्नै गाडीमा चढाएर स्थानीय जनता माध्यामिक विद्यालयमा पुर्याएर भर्ना गराएका थिए। मन्त्रीले एकैदिन १८ जना बालबालिकालाई विद्यालय भर्ना गराएर पाठ्यपुस्तक समेत हस्तान्तरण गरे।
कुनै बालबालिको शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले संघीय सरकारद्वारा थालनी गरिएको भर्ना अभियान सफल बनाउन आफूले सक्रियता देखाएको घिमिरेले बताए। शिक्षा र चेतनाको हिसाबले थलाहा गाउँपालिका धेरै पछि परेको उनको भनाइ छ।
थलाहामा ऋषिदेव, बाँतर, झाँगड, सरदार लगायतका समुदायको बसोबास छ। यो समुदाय शिक्षा, स्वास्थ्य लगायतका समग्र विकासका गतिविधिमा अन्य समुदायको तुलनामा पछाडि छ।
यसैगरी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र जिल्ला शिक्षा अधिकारी सहितको टोलीले बिपी प्रावि बुढीगंगा आसपासका बालबालिका भर्ना अभियान सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइ मोरङका राजेन्द्र बुढाथोकीले जानकारी दिए।
मोरङमा सरदर ५ प्रतिशत (६–७ हजार) बालबालिका अहिले पनि विद्यालयबाहिर रहेको उनको भनाइ छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार मोरङमा ५ वर्षभन्दा माथिको कूल साक्षरता दर ७० दशमलव ६३ प्रतिशत छ। पुरुषको साक्षरता ७८ दशमलव ७३ र महिलाको ६३ दशमलव १३ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।