काठमाडौं- लागुऔषध ओसारपसार गरेकाे आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। सप्तरीकाे राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनीलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध लागुऔषधसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
सशस्त्र प्रहरी बेस क्याम्प बनैनियाबाट खटिएको टोलीले मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाएको छ। उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलिलिटरको २० बोतल डाइलेक्स डिसी बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।