भक्तपुर- भक्तपुरमा ९ दिन ८ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा बुधबार रातिदेखि सम्पन्न भएको छ। गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा गःहिटीबाट रथ तानेपछि सम्पन्न गरिएको हो।
विसं अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको ४ दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी बैसाख ५ गते रथ तानेर सम्पन्न गर्ने परम्परा छ।
जात्राको अन्तिम दिन बुधबार साँझ गःहिटीबाट रथ तान्न सुरु गरिएको थियो। स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन्।
जात्रा शान्तिपूर्ण मनाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए। जात्रामा हिंसा हुन नदिन एक हजार ३ सय प्रहरी परिचालन गरिएको थियो।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने चलन छ। पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ। बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।