काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवा विधेयक आउने बताएका छन्। निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप नै निजामती विधेयक आउने बताएका हुन्।
ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापनपत्र बुझ्दै यस्तो बताएका हुन्।
'विधेयकका सम्बन्धमा मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि योजना छ। संविधानको मर्म र भावना अनुरुप नै विधेयकको विकास गर्न मेरो अधिकतम प्रयत्न हुन्छ,' सभामुख सापकोटाले भने।
भेटवार्तामा ट्रेड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए। मौजुदा निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत उनीहरूको छ।
‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।