काठमाडौं- विदेशी विनिमय अपचलन गरेको अभियोगमा दुई भारतीय नागरिकविरूद्ध राजस्व अनुसन्धान कार्यालय ईटहरीले मुद्दा दायर गरेको छ। भारतको दार्जिलिङ बस्ने ट्रक चालक रवि कुमार शर्मा र विहार बस्ने पप्पु कुमारले विदेशी विनिमय अपचलन गरेको अभियोगमा १ करोड ७५ लाख ८३ हजार ७ सय १७ रूपैयाँ बिगो कायम गरी जेठ २२ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
सशस्त्र प्रहरी बल मोरङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा विराटनगर भन्सार कार्यालय, मोरङअन्तर्गतको एकीकृत भन्सार जाँच चौकीमा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई डब्लुबी ७३ इ ७६३५ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।
दुवैले गल्ती स्वीकारेपछि उनीहरूलाई १ करोड ७५ लाख ८३ हजार ७ सय १७ नेपाली रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।