काठमाडौं– सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटन गराएको अभियोगमा एकजना पक्राउ परेका छन्। कालिकोट रासकोट नगरपालिका–४ बस्ने विजय शाही भन्ने ४३ वर्षीय ऐन बहादुर शाही पक्राउ परेका हुन्।
२०७६ फागुन २८ गते मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनहरा मनोरमपार्कस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्णाणधीन घरमा बम विस्फोट भएको थियो।
उक्त विस्फोटका मुख्य योजनाकार शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेको हो।
यसअघि सोही घटनामा संलग्न अभिषेक भन्ने टेक बहादुर विक, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी र देबी बहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात जिल्ला अदालत भक्तपुरको २०७६ फागुन ३० गते पत्रले देवी बहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
पक्राउ शाही उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ। उनी विप्लव नेतृत्वको नेकपामा आबद्ध रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।