दमौली, तनहुँ- लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन्।
पवित्र मादी र सेती घाटमा पुर्याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन्। घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले समेत काँध थापेका थिए।
उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झन्डा ओढाएका थिए।
राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को किरिया बस्ने बताइएको छ।
आज बिहान व्यास–१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो।
उनी लामो समयदेखि प्रेसरको बिरामी थिए। राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कसले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।