काठमाडौं- शनिबार तराईका तीन जिल्लाबाट नेपाल प्रवेश गरेको सलह किराहरूको समूह मंगलबार बेलुकासम्ममा २ दर्जन बढी जिल्लामा फैलिएको छ।
सलहको झुण्ड अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा देखिएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पनि देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।
बारा, पर्सा, सर्लाही, महोत्तरी, मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, र काभ्रे जिल्लामा सलहका फौजहरु देखिएका छन्। त्यसैगरी रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, दाङ, प्युठान, अर्घाखाँची, गुल्मी, कास्की, पाँचथर, खोटाङ, उदयपुर, कैलाली, डडेलधुरा र काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पनि सलह देखिएको छ।
यी जिल्लामा सलहले पारेको क्षतिको विवरण भने अझै आइनसकेकोको सलह सूचना केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीले बताए। आगामी तीन दिनमा सलह फैलन सक्ने सम्भावित क्षेत्रका बारे पनि केन्द्रले सार्वजनिक गरेको छ। सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकोले मध्य र पश्चिम नेपालका तराई जिल्लाहरुमा स्थानान्तरण गर्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको मौसमको पूर्वानुमानअनुसार असार १६ गते (मंगलबार) हावाको दिशा (औसत) देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने, असार १७ गते (बुधबार) हावाको दिशा (औसत) देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने र असार १८ गते (बिहीबार) पनि हावाको दिशा (औसत) देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना रहेको केन्द्रले जनाएको छ। जसका कारण यी तीन दिन भारतबाट सलहका नयाँ झुण्ड भित्रने र नेपालभित्रकै झुण्डहरू पहाडी तथा हिमाली जिल्लासम्ममा फैलन सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।