काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा यती ग्रुपका एजेन्ट फुर्वा ग्याल्जेन शेर्पालाई नियुक्त भएका छन्। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको सञ्चालक समितिमा रिक्त रहेका दुई सदस्यमध्ये एकमा शेर्पालाई नियुक्त गरेको हो।
मन्त्री योगेशकुमार भट्टराईको मन्त्रीस्तरीय निर्णयले निगम सञ्चालक समिति सदस्यमा चार्टर्ड एकाउन्टेन्ट डिमप्रकाश पौडेल र शेर्पालाई नियुक्त गरेको हो।
‘नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा दुई जनाको नियुक्ति भएको हो,’ मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पुष्टि गरे।
निगम सञ्चालक समिति सदस्यमा नियुक्त गरेका शेर्पा यती ग्रुपका एजेन्ट तथा यती ग्रुपको समेत लगानी रहेको अल्टिच्युट हेलिकोप्टरमा लगानी गरेका व्यवसायी हुन्। अल्टिच्युटमा फुर्वा ग्याल्जेन शर्पाको २५ प्रतिशत सेयर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत बताउँछ।
त्यतिमात्रै नभई सगरमाथा राष्ट्रिय निकुञ्ज कब्जा गरी कोङ्देमा शर्पासमेतको लगानीमा रिसाेर्ट सञ्चालन भइरहेको छ।
यसअघि पनि नेपाल वायुसेवा निगमको सञ्चालन बोर्डमा यतीका एजेन्टका रूपमा निमा नुरु शेर्पा रहेका थिए। उनको कार्यकाल सकिएपछि फेरि यती ग्रुपकै एजेन्टका रूपमा फुर्वा ग्याल्जेन शर्पालाई नियुक्ति गरिएको हो।
सञ्चालक समितिमा पछिल्लोपटक दुई जनाको नियुक्ति भएपछि अझै एक स्थान रिक्त रहेको छ। निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, मुक्तिराम पाण्डे र निमा नुरु शेर्पाको कार्याकाल सकिएपछि ३ जना सदस्य खाली भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।