हेटौंडा– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन जना विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्।
भर्ना अभियान अन्तर्गत मुख्यमन्त्री पौडेलले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीमा दुई बालबालिका तथा महेन्द्र किरण माविमा एक बालकलाई भर्ना गराएका हुन्।
विद्यालय जाने उमेरका कोही बालबालिका पनि नछुटून् भन्ने उद्देश्यले नेपाल सरकारले सुरु गरेको अभियान अन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरी ६ जोगीटारका ६ वषीय सन्जित ब्लोन तथा मनहरी गाउँपालिका वडा नम्बर ६ की ६ वर्षीया जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा एकमा भर्ना गरिदिएका हुन्। यस्तै, उनले मनहरीकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि अभिभावक बनेर भर्ना गराए।
मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कुल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरिदिएका छन्।
विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ सरकारले पनि विद्यार्र्थी भर्ना अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताए। शिक्षाबिना विकास र समृद्धि संभव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै वालवालिका बञ्चित हुन नहुने धारणा व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरी गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति थियो। सो क्रममा प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष, वडा सदस्य लगायतले पनि विद्यार्थी भर्ना गराएका थिए।
- धर्मेन्द्र दाहालबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।